बूढीगण्डकीको बाढीले शान्ति बजारका ५० घर डुबानमा, दुई पुल बगायो

बूढीगण्डकीको बाढीले शान्ति बजारका ५० घर डुबानमा, दुई पुल बगायो

गोरखा । बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढी र कालो लेदोले गोरखाको आरुघाट गाउँपालिकामा ठूलो भौतिक क्षति पुर्‍याएको छ। बाढीले दुईवटा मोटरेबल पुल बगाउनुका साथै दर्जनौँ घरमा क्षति पुर्‍याएको छ। समयमै स्थानीयलाई सतर्क गराएर सुरक्षित स्थानमा सारिएकाले मानवीय क्षति भने हुन पाएन।

आरुघाट गाउँपालिकाका अध्यक्ष राजु गुरुङका अनुसार वडा नम्बर ५ को शान्ति बजार क्षेत्रमा करिब ५० वटा घर डुबानमा परेका छन्। सोती क्षेत्रमा पनि १० देखि १५ वटा घरमा क्षति पुगेको छ भने एउटा होटल पूर्ण रूपमा डुबेको छ।बाढीले आरुघाट बजारबाट धादिङ र गोरखा जोड्ने मोटरेबल पुल तथा सोतीबाट मान्बु र काशीगाउँतर्फ जाने अर्को पुल बगाएको अध्यक्ष गुरुङले बताएका छन्। पुल बगाएपछि त्यस क्षेत्रमा यातायात आवागमनसमेत अवरुद्ध भएको छ।

बिहानैदेखि सतर्कता, जोगियो मानवीय क्षति

अध्यक्ष गुरुङका अनुसार माथिल्लो तटीय क्षेत्रबाट बिहान करिब ५ बजे बाढी आउन लागेको सूचना प्राप्त भएको थियो। सम्भावित जोखिमलाई ध्यानमा राख्दै बिहान साढे ४ बजेदेखि नै सुरक्षाकर्मी र सञ्चारमाध्यमको सहयोगमा स्थानीयलाई सतर्क गराइएको थियो।

स्थानीयलाई समयमै सुरक्षित स्थानमा सारिएकाले ठूलो मानवीय क्षति हुनबाट जोगिएको उनले बताए। बाढीको बहाव बढ्दै जाँदा बिहान साढे ७ बजेतिर सोतीको पुल बगाएको थियो भने बिहान १० बजेतिर अर्को पुल पनि बाढीले बगाएको थियो।

उद्धार र राहतमा सुरक्षाकर्मी परिचालन

बाढी प्रभावित क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोली परिचालन गरी उद्धार तथा व्यवस्थापनको काम अघि बढाइएको छ। नेपाली सेनाले आरुघाट क्षेत्रमा दुईदेखि तीन दिनसम्मका लागि अस्थायी बेस क्याम्प स्थापना गरेर उद्धार र व्यवस्थापनमा सहयोग गर्ने तयारी गरेको छ।

विस्थापित नागरिकको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै स्वास्थ्य शिविरमार्फत परीक्षणको व्यवस्था मिलाइएको छ। बाढीले अस्पताल, विद्यालय र वडा कार्यालयजस्ता सार्वजनिक संरचनामा भने क्षति नपुर्‍याएको गाउँपालिकाले जनाएको छ।

बाढीले पुल र बस्तीमा क्षति पुर्‍याएपछि प्रभावित क्षेत्रको जनजीवन कष्टकर बनेको छ। अजुवा खोला आसपास थुप्रिएको लेदो हटाउन र सोती क्षेत्रलाई थप सुरक्षित बनाउन गाउँपालिका अध्यक्ष गुरुङसहितको टोली आवश्यक उपकरण लिएर फिल्डमा खटिएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हेटौँडामा घरभित्रै श्रीमान् मृत, श्रीमती घाइते; घटनाबारे अनुसन्धान जारी
14 घण्टा अगाडि

हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ भावनामार्गस्थित एक घरमा श्रीमान् मृत र श्रीमती घ ...

छुटाउनुभयो कि ?

TOP