हिल्सामा खाद्यान्न र औषधिको अभाव, हिउँले बाटो छेक्दा दसैँमा घर पुग्नै मुस्किल

हिल्सामा खाद्यान्न र औषधिको अभाव, हिउँले बाटो छेक्दा दसैँमा घर पुग्नै मुस्किल

हुम्ला । चीनसँगको हिल्सा नाका लामो समयदेखि बन्द हुँदा सीमा क्षेत्रमा रहेका नेपाली नागरिक र सुरक्षाकर्मी खाद्यान्न, खानेपानी तथा स्वास्थ्य उपचारको अभाव झेल्न बाध्य भएका छन् । चीनतर्फको नाका खुलेर नेपाली नागरिक फर्किन थाले पनि नेपालतर्फ सडकमा जमेको हिउँका कारण घर पुग्न कठिन भएको छ ।

गत ९ गतेदेखि नाका बन्द भएपछि हिल्सामा दैनिक उपभोग्य वस्तुको अभाव चुलिँदै गएको हो । लामो समयदेखि हरियो सागसब्जी खान नपाएको स्थानीय तथा सुरक्षाकर्मी बताउँछन् । माछा-मासु उपलब्ध हुन छाडेको छ भने मौज्दातमा रहेको दालको झोलसँग खाना खानुपर्ने अवस्था आएको हिल्सा सीमा सुरक्षाचौकी (बीओपी)का इन्स्पेक्टर केदार सापकोटाले बताए ।

नाका बन्द हुँदा खाद्यान्नसँगै स्वास्थ्य उपचारको समस्या पनि गम्भीर बनेको छ । हिल्सामा स्वास्थ्यचौकी वा मेडिकलसमेत नहुँदा बिरामी परे सामान्य औषधिको भर पर्नुपर्ने अवस्था छ । सशस्त्र प्रहरीका एक जवानले लिएको सिएमए तालिम र उनीसँग उपलब्ध सीमित औषधिबाटै बिरामीको उपचार गर्नुपरेको सापकोटाले जानकारी दिए । उनका अनुसार सामान्य अवस्थामा सिटामोलजस्ता औषधिको भरमा उपचार गर्नुपर्ने बाध्यता छ ।

यसैबीच, चीनतर्फको नाका खुलेपछि बिहीबार १४४ जना नेपाली नागरिक नेपाल प्रवेश गरेका छन् । उनीहरूमध्ये केहीले हिउँ जमेको बाटो हुँदै पैदल यात्रा गर्नुपरेको छ । केही बिहीबार नै हिँडिसकेका छन् भने चीनबाट ढिलो गरी नेपाल प्रवेश गरेकाहरू शुक्रबार बिहानै यात्रा सुरु गर्ने तयारीमा छन् ।

नेपालतर्फको सडकमा जमेको हिउँ हटाउने काम भने बुधबारदेखि मात्रै सुरु भएको हो । नारा लेक क्षेत्रमा हिउँ पन्छाउन सानो स्काभेटर प्रयोग गरिएको छ । तर, मेसिनले दैनिक बढीमा एकदेखि दुई किलोमिटर मात्रै सडक सफा गर्न सक्ने भएकाले काम सुस्त गतिमा भइरहेको छ ।

सडक सफा गर्ने काममा ढिलाइ हुँदा हिल्सामा रोकिएका नागरिक थप चिन्तित बनेका छन् । यही गतिमा हिउँ हटाउने हो भने दसैँसम्म पनि घर पुग्न नसकिने चिन्ताका बीच बिहीबार एक सयभन्दा बढी नेपालीले पैदलै यात्रा सुरु गरेका छन् ।

चीनतर्फको नाका खुले पनि नेपालतर्फको सडक सहज रूपमा सञ्चालनमा आउन नसक्दा घर फर्किन चाहने नागरिकले थप कठिनाइ सामना गर्नुपरेको छ । खाद्यान्नको अभाव, स्वास्थ्य सेवाको पहुँच नहुनु र सडकमा बाक्लो हिउँ जम्नुले हिल्साको अवस्था झन् जटिल बनेको छ ।

हाल हिल्सामा सशस्त्र प्रहरीका ३५, नेपाल प्रहरीका २०, अध्यागमन कार्यालयका चार र भन्सार कार्यालयका चार गरी ६३ जना सरकारी कर्मचारी छन् । उनीहरूसँगै केही स्थानीय नागरिक पनि त्यहाँ बसिरहेका छन् ।

स्थानीय तथा सुरक्षाकर्मीले सडकमा जमेको हिउँ तत्काल प्रभावकारी रूपमा हटाएर यातायात सञ्चालन गर्न नसके खाद्यान्न र स्वास्थ्य उपचारको समस्या थप गम्भीर बन्न सक्ने बताएका छन् ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हुम्लामा रुघाखोकीको प्रकोप, तीन सातामा चार जनाको मृत्यु
14 घण्टा अगाडि

चङ्खेली गाउँपालिका–६ स्थित मेल्छाम स्वास्थ्य चौकीका इन्चार्ज हर्क बुढाका अनुसार मृत्यु हुनेहरू ...

छुटाउनुभयो कि ?

TOP