बूढानीलकण्ठमा भाडाको घरबाट सुन प्रशोधन, २१ किलो सुनसहित तीन चिनियाँ पक्राउ

बूढानीलकण्ठमा भाडाको घरबाट सुन प्रशोधन, २१ किलो सुनसहित तीन चिनियाँ पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठमा घर भाडामा लिएर सुन प्रशोधनको अवैध धन्दा सञ्चालन भइरहेको खुलेको छ। प्रहरीले उक्त घरमा छापा मार्दा करिब २१ किलो सुनसहित तीन जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ।

नेपाल प्रहरीको अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले बिहीबार साँझ बूढानीलकण्ठस्थित साढे दुईतले घरमा छापा मारेको थियो। प्रहरी पुग्दा घरभित्र सुन गाल्ने काम भइरहेको थियो।

घरमा खानतलासी गर्दा प्रहरीले सुन गाल्ने, गुणस्तर जाँच्ने तथा विभिन्न आकारमा ढाल्ने उपकरणसमेत बरामद गरेको छ। प्रारम्भिक अनुसन्धानअनुसार पक्राउ परेकाहरूले ठोस र तरल दुवै स्वरूपमा सुन ल्याएर आवश्यकताअनुसार प्रशोधन गरी विभिन्न आकारमा ढाल्ने गरेको पाइएको छ।

उक्त घरमा च्यानल गेट र सीसीटीभीसमेत जडान गरिएको थियो। यसले उनीहरूले व्यवस्थित रूपमा सुन प्रशोधनको काम गर्दै आएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।

बरामद सुनको वास्तविक परिमाण र गुणस्तर यकिन गर्न प्रहरीले गुणस्तर तथा नापतौल विभागका कर्मचारी र सुनचाँदी व्यवसायीका प्रतिनिधिको सहयोगमा जाँच गरिरहेको छ।

सुन कहाँबाट ल्याइन्थ्यो, कसलाई आपूर्ति गरिन्थ्यो र यसमा अन्य व्यक्तिको संलग्नता छ वा छैन भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पक्राउ परेका तीनै जना चिनियाँ नागरिक र बरामद सुनबारे थप विवरण सार्वजनिक गर्न प्रहरीले पत्रकार सम्मेलन गर्ने तयारी गरेको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हुम्लामा रुघाखोकीको प्रकोप, तीन सातामा चार जनाको मृत्यु
14 घण्टा अगाडि

चङ्खेली गाउँपालिका–६ स्थित मेल्छाम स्वास्थ्य चौकीका इन्चार्ज हर्क बुढाका अनुसार मृत्यु हुनेहरू ...

छुटाउनुभयो कि ?

TOP