अझै ७३ प्रतिशत नागरिक काउन्टरमै पुगेर बिजुलीको बिल तिर्छन्

अझै ७३ प्रतिशत नागरिक काउन्टरमै पुगेर बिजुलीको बिल तिर्छन्

काठमाडौं । डिजिटल भुक्तानीको सुविधा बढ्दै गए पनि नेपालमा अझै ७३ प्रतिशत नागरिकले बिजुलीको महसुल तिर्न विद्युत् प्राधिकरणका काउन्टरमै पुग्ने गरेका छन् ।

ऊर्जा मन्त्रालयका अनुसार ठूलो संख्यामा नागरिक भौतिक रूपमा काउन्टरमै पुग्दा विद्युत् महसुल सङ्कलनका लागि मात्रै राज्यको वार्षिक करिब ६० करोड रुपैयाँ खर्च भइरहेको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले नागरिकलाई सकेसम्म डिजिटल माध्यमबाट विद्युत् महसुल भुक्तानी गर्न आग्रह गरेका छन् । उनका अनुसार नेपाल विद्युत् प्राधिकरणका १२९ वितरण केन्द्रअन्तर्गत ६५५ वटा महसुल सङ्कलन काउन्टर सञ्चालनमा छन् ।

यी काउन्टर सञ्चालनमा मात्रै प्राधिकरणको वार्षिक ५९ करोड ७९ लाख रुपैयाँ खर्च हुने गरेको मन्त्री श्रेष्ठले बताएका छन् । यसले राज्यको स्रोतसँगै ठूलो जनशक्ति पनि काउन्टर सञ्चालनमा प्रयोग भइरहेको छ ।

मन्त्री श्रेष्ठले डिजिटल भुक्तानीलाई जीवनशैलीकै रूपमा विकास गर्नुपर्नेमा जोड दिएका छन् । उनका अनुसार अनलाइनबाट महसुल तिर्दा नागरिकको समय र आवतजावतमा लाग्ने खर्च बचत हुनुका साथै नगद कारोबार घट्दा वित्तीय पारदर्शिता र सुरक्षासमेत बढ्छ ।

काउन्टर सञ्चालनमा खर्च भइरहेको बजेट र जनशक्तिलाई अन्य ग्राहक सेवा तथा विद्युत् सेवाको गुणस्तर सुधारमा प्रयोग गर्न सकिने उनको भनाइ छ ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP