चर्चामा
जोमसोम । चीनबाट काठमाडौँ लैजान ल्याइएको करिब २७ लाख रुपैयाँ बराबरको ड्रागन फ्रुट सडक अवरुद्ध भएपछि जोमसोममै थन्किएको छ । बेनी-जोमसोम सडकखण्ड बाढी र पहिरोका कारण अवरुद्ध हुँदा १५ दिनभन्दा बढी समयदेखि रोकिएको ड्रागन फ्रुट बिग्रिन थालेपछि व्यवसायीले स्थानीयवासीलाई निःशुल्क वितरण गरेका छन् ।
असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षापछि आएको बाढी तथा पहिरोले बेनी-जोमसोम सडकखण्डमा क्षति पुर्याएको थियो । त्यसपछि ड्रागन फ्रुट बोकेको कन्टेनर जोमसोममै रोकिएको हो । सडक पूर्णरूपमा सञ्चालनमा आउन अझै समय लाग्ने र ठूला सवारीसाधनसमेत सहज रूपमा आवतजावत गर्न नसक्ने अवस्था रहेपछि व्यवसायीले फल स्थानीयलाई वितरण गरेका हुन् ।
व्यवसायीका प्रतिनिधि सुवास सुनुवारका अनुसार कन्टेनरमा ९२४ क्यारेट ड्रागन फ्रुट थियो । लामो समयसम्म कन्टेनरमै राख्दा जोमसोमको दिउँसोको चर्को घाम र रातिको अत्यधिक चिसोका कारण फल बिग्रिन थालेको उनले बताए । जोमसोममै बिक्री गर्ने प्रयास गरिए पनि पर्याप्त बिक्री हुन सकेन । सडकको अवस्थाका कारण ड्रागन फ्रुट बेनीसम्म पुर्याउनसमेत सम्भव नभएपछि स्थानीयलाई निःशुल्क वितरण गर्नुपरेको सुनुवारको भनाइ छ ।
निःशुल्क ड्रागन फ्रुट वितरण हुने खबर पाएपछि स्थानीयवासी कन्टेनर रहेको स्थानमा जम्मा भएका थिए । व्यवसायीले फल वितरण गरेपछि स्थानीयले आवश्यकताअनुसार ड्रागन फ्रुट लगेका थिए । सडक अवरोधका कारण ठूलो आर्थिक क्षति व्यहोर्नुपरे पनि फल बिग्रिएर खेर जानुभन्दा स्थानीयलाई निःशुल्क वितरण गर्नु उचित लागेको सुनुवारले बताए । ड्रागन फ्रुट वितरण गरेपछि उनी काठमाडौँ फर्किने तयारीमा छन् ।
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले देश राजनीतिक, आर्थिक तथा सामाजिक संकटमा रहेको निष्कर्षसहित दुई ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!