चाडपर्वसँगै कञ्चनपुरमा खेलकुदको माहोल, फुटबलदेखि ब्याडमिन्टनसम्म प्रतियोगिताको लहर

चाडपर्वसँगै कञ्चनपुरमा खेलकुदको माहोल, फुटबलदेखि ब्याडमिन्टनसम्म प्रतियोगिताको लहर

महेन्द्रनगर । दसैँ, दीपावली र छठपर्व नजिकिएसँगै कञ्चनपुरमा खेलकुद गतिविधि पनि बढेको छ। चाडपर्वको अवसर पारेर जिल्लाका विभिन्न स्थानमा फुटबल, ब्याडमिन्टनलगायतका प्रतियोगिता आयोजना भइरहेका छन्।

महेन्द्रनगरमा तेस्रो बासुदेव स्मृति सेभेन ए साइड यू-१६ अन्तरविद्यालयस्तरीय फुटबल प्रतियोगिता जारी छ। कञ्चनपुर जिल्ला फुटबल सङ्घको समन्वयमा भइरहेको प्रतियोगितामा जिल्लाका सामुदायिक तथा संस्थागत गरी ३२ विद्यालय सहभागी छन्।

त्यस्तै, कृष्णपुर-२ मा दीपेन्द्र स्मृति सामुदायिक वन उपभोक्ता समितिले दसैँ, दीपावली तथा छठको अवसरमा फुटबल प्रतियोगिता आयोजना गरेको छ। प्रतियोगितामा भेट्रान, यू-१६ र युवा गरी तीन विधामा खेल भइरहेको छ।

'वन संरक्षणसँगै खेलकुदको सम्मान, भेट्रान फुटबल स्वास्थ्य र एकताको अभियान' भन्ने नारासहित सुरु भएको प्रतियोगितामा भेट्रानतर्फ १३, यू-१६ मा १३ र युवातर्फ १६ टोली सहभागी छन्। भेट्रानतर्फ विजेताले ५१ हजार रुपैयाँ तथा यू-१६ र युवा विधाका विजेताले २० हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन्।

यसैबीच, शुक्लाफाँटा ब्याडमिन्टन सङ्घले शुक्रबारदेखि झलारीमा तीन दिने सुदूरपश्चिम प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्दैछ। खेलकुदमार्फत सामाजिक सद्भाव कायम गर्ने, स्वस्थ समाज निर्माण गर्ने तथा युवालाई लागुऔषधबाट टाढा राख्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।

दोधारा चाँदनीमा पनि दसैँ तथा दीपावलीको अवसरमा तेस्रो मेयर कप फुटबल प्रतियोगिता सञ्चालन भइरहेको छ। नगर खेलकुद समितिको आयोजनामा भइरहेको प्रतियोगितामा नगरभित्रका २० टोली सहभागी छन्। प्रतियोगिताको विजेताले एक लाख एक हजार रुपैयाँ नगद पुरस्कार पाउनेछ।

बेलडाँडी गाउँपालिकामा घटस्थापनाका दिन कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ स्तरीय फुटबल प्रतियोगिता आयोजना हुँदैछ। बेलडाँडी फुटबल एकेडेमीको आयोजनामा हुने प्रतियोगितामा करिब डेढ दर्जन टोली सहभागी हुनेछन्। विजेता टोलीलाई ८५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

त्यस्तै, पुनर्वासमा कञ्चनपुरकै ठूलोमध्ये एक मानिएको १६औँ रनिङ चाँदी कप खुला फुटबल प्रतियोगिता शनिबारदेखि सुरु हुँदैछ। सिद्धार्थ युवा क्लबको आयोजनामा हुने प्रतियोगितामा सुदूरपश्चिम प्रदेशभरका २९ टोली सहभागी हुनेछन्। प्रतियोगिताको विजेताले ६४ तोला चाँदी जडित ट्रफी प्राप्त गर्नेछ।

यस वर्ष प्रतियोगिता ‘लागुऔषध नियन्त्रणमा हाम्रो प्रतिबद्धता’ भन्ने नारासहित आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।

कञ्चनपुर जिल्ला खेलकुद समितिका अध्यक्ष ज्ञानेन्द्रबहादुर सिंहले चाडपर्वको समयमा जिल्लाभर खेलकुद प्रतियोगिता आयोजना हुने परम्परा लामो समयदेखि रहँदै आएको बताए। उनका अनुसार यस्ता प्रतियोगिताले खेलकुदको विकाससँगै युवालाई सक्रिय बनाउन र चाडपर्वका बेला स्वस्थ मनोरञ्जनको वातावरण बनाउन पनि सहयोग पुर्‍याउँदै आएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP