हुम्लामा बाक्लो हिमपात, लिमी र हिल्साको यातायात ठप्प

हुम्लामा बाक्लो हिमपात, लिमी र हिल्साको यातायात ठप्प

सुर्खेत । बाक्लो हिमपातका कारण हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको न्यालु र नारा लेकमा तीन फिटभन्दा बढी हिउँ जम्दा लिमी र हिल्सातर्फको यातायात सेवा अवरुद्ध भएको छ।
नाम्खा-५ को न्यालु र वडा नम्बर ६ को नारा लेक हुँदै लिमी जाने सडकमा साढे तीन फिटसम्म हिउँ जमेको छ। असोजको पहिलो सातादेखि नै लिमीको आवागमन बन्द हुँदा स्थानीयलाई अत्यावश्यक कामका लागि समेत बाहिर जान समस्या भएको छ। बिरामी वा अन्य आपत्कालीन अवस्थामा हेलिकोप्टर चार्टर गर्नुपर्ने अवस्था रहेको स्थानीयले बताएका छन्।

हिमपातका कारण लिमीको सुनखानी प्रहरी चौकीसमेत प्रभावित भएको छ। चौकी आसपास करिब तीन फिट हिउँ जम्दा दाउरा र खानेपानीको समस्या भएको छ भने खाद्यान्न तथा अन्य सामग्री पैदलै बोकेर पुर्‍याउनुपर्ने अवस्था छ।

यस्तै, ४ हजार ६७० मिटर उचाइमा रहेको नारा लेकमा पनि साढे तीन फिटसम्म हिउँ जमेको छ। सडकमा जमेको हिउँ जेसिबी प्रयोग नगरी पन्छाउन कठिन हुने स्थानीयको भनाइ छ। यातायात अवरुद्ध हुँदा दसैँ-तिहारको समयमा ताक्लाकोटमा रहेका हुम्लावासीलाई घर फर्किनसमेत समस्या भएको छ

स्थानीयका अनुसार यस वर्ष हिल्सामा विगत १५ वर्षयताकै चाँडो हिमपात भएको हो। उनीहरूले मौसममा आएको परिवर्तनका कारण असोजमै बाक्लो हिमपात भएको हुनसक्ने बताएका छन्। स्थानीयवासीले सडकमा जमेको हिउँ तत्काल पन्छाएर यातायात सञ्चालन गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हुम्लामा रुघाखोकीको प्रकोप, तीन सातामा चार जनाको मृत्यु
13 घण्टा अगाडि

चङ्खेली गाउँपालिका–६ स्थित मेल्छाम स्वास्थ्य चौकीका इन्चार्ज हर्क बुढाका अनुसार मृत्यु हुनेहरू ...

छुटाउनुभयो कि ?

TOP