"कांग्रेसमा आजदेखि असली खेल : बन्दसत्रसँगै चुनावी प्रक्रिया सुरु, २२ गते नेतृत्वको फैसला!"

"कांग्रेसमा आजदेखि असली खेल : बन्दसत्रसँगै चुनावी प्रक्रिया सुरु, २२ गते नेतृत्वको फैसला!"

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन दोस्रो दिन प्रवेश गरेसँगै आजदेखि पार्टीको नयाँ नेतृत्व चयन गर्ने निर्वाचन प्रक्रिया औपचारिक रूपमा अघि बढ्दैछ। आइतबार काठमाडौंको खुलामञ्चमा भव्य उद्घाटन समारोह सम्पन्न भएपछि आज बन्दसत्रसँगै चुनावी गतिविधि अगाडि बढ्न लागेको हो। आज बिहान १० बजे केन्द्रीय कार्यसमितिको बैठक बस्नेछ। बैठकमा बन्दसत्रमा प्रस्तुत हुने प्रतिवेदन तथा महाधिवेशनका आगामी कार्यक्रमबारे छलफल हुनेछ। बैठक सकिएपछि खुलामञ्चमै बन्दसत्र सुरु हुनेछ।

बन्दसत्रमा पार्टी सभापति गगन थापाले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम छ। त्यस्तै उपसभापति, महामन्त्री र कोषाध्यक्षलगायत पदाधिकारीका प्रतिवेदन पनि प्रस्तुत हुनेछन्। करिब ७ हजार ५०० महाधिवेशन प्रतिनिधि सहभागी हुने बन्दसत्रमा प्रतिवेदनमाथि भूगोलका आधारमा हिमाल, पहाड र तराई-मधेश गरी तीन समूह बनाएर छलफल गराउने तयारी छ।

साँझदेखि चुनावी प्रक्रिया
बन्दसत्रसँगै कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि निर्वाचन प्रक्रिया पनि आजैदेखि सुरु हुनेछ। निर्वाचन समितिले साँझ ५ बजे मतदाता नामावली प्रकाशन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ।
मतदाता नामावलीमाथि साँझ ५ बजेदेखि ६ः३० बजेसम्म दाबी–विरोध गर्न सकिनेछ। त्यसपछि छानबिन तथा जाँचबुझको प्रक्रिया अघि बढाएर राति ८ः३० बजे अन्तिम मतदाता नामावली प्रकाशन गर्ने तयारी छ।

भोलिदेखि उम्मेदवारी दर्ता
निर्वाचन कार्यतालिकाअनुसार असोज २० गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारी मनोनयन दर्ता हुनेछ। सोही दिन अपराह्न ४ः३० बजे उम्मेदवारको नामावली प्रकाशन गरिनेछ भने ४ः३० देखि ५ः३० बजेसम्म दाबी-विरोधको समय तोकिएको छ। राति ७ बजे उम्मेदवारको दोस्रो नामावली सार्वजनिक हुनेछ। असोज २१ गते बिहान ९ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिनेछ। त्यसपछि बिहान १० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ। सोही दिन उम्मेदवारले चुनावी प्रचारप्रसार गर्न पाउनेछन्।

असोज २२ गते मतदान
कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि असोज २२ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ। मतदानका लागि राष्ट्रिय सभागृह, खुलामञ्च र नेपाल प्रज्ञा-प्रतिष्ठानलाई मतदान केन्द्र तोकिएको छ। मतदान सकिएलगत्तै मतगणना सुरु गर्ने निर्वाचन समितिको तयारी छ। यसपटक निर्वाचनमा विद्युतीय भोटिङ मेसिन प्रयोग नगरी परम्परागत मतदान प्रणाली अपनाइने पार्टी स्रोतले जनाएको छ।

यससँगै कांग्रेसको १५औँ महाधिवेशन आजदेखि नीतिगत बहससँगै नयाँ नेतृत्व चयनको निर्णायक चरणमा प्रवेश गरेको छ। बन्दसत्रमा हुने प्रतिवेदनमाथिको बहस र साँझदेखि सुरु हुने निर्वाचन प्रक्रियालाई कांग्रेसको आगामी राजनीतिक दिशा तय गर्ने महत्वपूर्ण चरणका रूपमा हेरिएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

दशैँ सकेर काठमाडौं फर्किनेको चाप बढ्यो, नाकामा भिडभाड
3 घण्टा अगाडि

काठमाडौं । दशैँ मनाउन गाउँघर तथा आफन्तकहाँ गएकाहरू राजधानी काठमाडौं फर्किने क्रम बढेको छ। दशैँको टीक ...

छुटाउनुभयो कि ?

TOP