चर्चामा
मोरङ । मोरङको सुनवर्षी नगरपालिका-७ बरडंगा लक्ष्मीटोलमा आगलागी हुँदा एक वृद्ध घाइते भएका छन्। आगलागीबाट गाईगोठ र किचन पूर्णरूपमा जलेर नष्ट हुँदा करिब ७ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार सोमबार बिहान करिब ४ः०५ बजे स्थानीय ७० वर्षीय लालचन्द शर्माको टिनको छाना र टाटीबेराले बनेको गाईगोठमा अचानक आगलागी भएको हो। गोठमा घुर बालेको अवस्थामा आगो सल्किएको प्रारम्भिक जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ।
आगो तीव्र रूपमा फैलिँदा गोठसँगै जोडिएको किचनसमेत जलेर नष्ट भएको थियो। आगलागीका कारण गोठमा रहेका पशुचौपायासमेत प्रभावित भएका छन्। एउटा ब्याउने गाई र तीनवटा गोरु जलेर घाइते भएका छन्।
आगलागी भएको जानकारी प्राप्त भएपछि प्रहरी चौकी बरडंगाबाट प्रहरी सहायक निरीक्षक चेतनारायण श्रेष्ठको कमान्डमा प्रहरी टोली तत्काल घटनास्थल पुगेको थियो। प्रहरी, रंगेली नगरपालिकाको दमकल र स्थानीयवासीको संयुक्त प्रयासमा बिहान करिब ४ः४० बजे आगो पूर्णरूपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
आगो नियन्त्रणमा लिने क्रममा गोठधनी लालचन्द शर्मा घाइते भएका थिए। उनको दुवै पाखुरा, दायाँ खुट्टा र टाउकोमा आगोले पोलेको छ। उनलाई तत्काल उपचारका लागि रंगेली अस्पताल लगिएको थियो।
रंगेली अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि शर्मालाई विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा रेफर गरिएको थियो। उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
आगलागीबाट गोठमा रहेका संरचना, किचन तथा अन्य सामग्री जलेर नष्ट भएका छन्। प्रारम्भिक विवरणअनुसार घटनाबाट करिब ७ लाख रुपैयाँ बराबरको भौतिक क्षति भएको प्रहरीले जनाएको छ। पशुचौपायामा भएको क्षतिको थप विवरणसमेत संकलन भइरहेको छ।
घुरबाट आगो सल्किएर आगलागी भएको प्रारम्भिक अनुमान गरिए पनि घटनाको यकिन कारण तथा क्षतिको विस्तृत विवरणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
चङ्खेली गाउँपालिका–६ स्थित मेल्छाम स्वास्थ्य चौकीका इन्चार्ज हर्क बुढाका अनुसार मृत्यु हुनेहरू ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!