चर्चामा
काठमाडौं । असोज ८ देखि ११ गतेसम्म देशभर परेको भारी तथा अति भारी वर्षापछि आएको बाढी तथा पहिरोमा परी २१ जनाको मृत्यु भएको छ। ५ जना बेपत्ता छन् भने ५ जना घाइते भएका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वर्षाजन्य विपद्बाट ७४७ परिवार प्रत्यक्ष प्रभावित भएका छन्। बाढी तथा पहिरोको उच्च जोखिममा रहेका क्षेत्रबाट करिब २ हजार नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ।
प्रभावित तथा उद्धार गरिएका नागरिकका लागि स्थानीय तह र जिल्ला प्रशासन कार्यालयको समन्वयमा राहत तथा आवश्यक बन्दोबस्तीको व्यवस्था गरिएको प्राधिकरणले जनाएको छ। जाजरकोट, म्याग्दी र बागलुङलगायतका जिल्लामा नेपाली सेना तथा अन्य सुरक्षा निकायका हेलिकोप्टर परिचालन गरी बाढीपहिरोमा फसेकाको उद्धार गरिएको थियो।
प्राधिकरणका अनुसार असोज ८ गते बिहान ९ बजेदेखि ११ गते दिउँसो १ बजेसम्म ७६ घण्टा लगातार सिचुएसन रूमबाट मौसमको अनुगमन, समन्वय र सूचना सम्प्रेषण गरिएको थियो। मौसम पूर्वानुमानका आधारमा दैनिक तीन पटक अद्यावधिक सूचना तथा सतर्कता सन्देश जारी गरिएको थियो।
जोखिम क्षेत्रमा खटिएका उद्धारकर्मीलाई ५ हजारभन्दा बढी तथा जोखिम क्षेत्रका बासिन्दालाई जल तथा मौसम विज्ञान विभागमार्फत ८ लाख १४ हजार सतर्कता एसएमएस पठाइएको प्राधिकरणले जनाएको छ। साथै, देशका विभिन्न क्षेत्रमा रहेका करिब ९ हजार विदेशी पर्यटक तथा पदयात्रीलाई लक्षित गरी अंग्रेजी भाषामा समेत सतर्कता सूचना जारी गरिएको थियो।
विपद्को जोखिम रहेका सडकखण्डमा सवारी आवागमन रोक्न निर्देशन दिनुका साथै प्रभावित जिल्लाका विद्यालयसमेत बन्द गरिएको थियो।
प्राधिकरणका अनुसार पछिल्लो चार दिनमा देशभरका १८६ वटा वर्षा मापन केन्द्रमा १०० मिलिमिटरभन्दा बढी वर्षा भएको छ। सबैभन्दा धेरै नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को डेडगाउँमा ५४४.२ मिलिमिटर वर्षा मापन भएको छ।
त्यसैगरी कास्कीको पञ्चासेमा ५००.२ मिलिमिटर र तनहुँको अत्रौलीटारमा ४७२ मिलिमिटर वर्षा रेकर्ड भएको प्राधिकरणले जनाएको छ।
काठमाडौं । भ्रष्टाचारविरोधी आन्दोलनबाट जन्मिएको विद्यार्थी नेतृत्वको चुनावी अभियानले सर्बियाको राजनी ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!