काठमाडौं । मंगलादेवी सिंह फाउन्डेसन र गंगबु ब्युटी पार्लर एण्ड ट्रेनिङ सेन्टरको संयुक्त आयोजनामा ‘सेकेन्ड नेपाल ब्युटिसियन अवार्ड २०८३’ भव्य रूपमा काठमाडौमा सम्पन्न भएको छ। नेपालका विभिन्न जिल्लामा लामो समयदेखि सौन्दर्य क्षेत्रमा सक्रिय तथा योगदान पुर्याउँदै आएका १० जना अनुभवी सौन्दर्यकर्मीलाई उनीहरूको कामको मूल्याङ्कन गर्दै सम्मान गरिएको हो।
कार्यक्रममा बागमती प्रदेशकी निवर्तमान मन्त्री हरिप्रभा खड्की प्रमुख अतिथिका रूपमा सहभागी भएकी थिइन् भने कार्यक्रमको सभाध्यक्षता गंगबु ब्युटी पार्लर एण्ड ट्रेनिङ सेन्टरकी सञ्चालक ज्ञानी प्रजापति महर्जनले गरेकी थिइन्।
अवार्ड कार्यक्रममा नेपालकै पहिलो कस्मोटोलोजिस्ट परीसी कारन्जित, विराटनगरकी वरिष्ठ सौन्दर्यविद् सन्तोषी श्रेष्ठ, वीरगञ्जकी गुड्डी जोशी, खगिसरा लामिछाने, कञ्चनपुरकी अमृता कुमारी राणा, मकवानपुर हेटौंडाकी गमला राजभण्डारी (अस्मिता), जनकपुरकी लुसीदेवी शाह, बर्दियाकी राधा कुँवर, सुदूरपश्चिम प्रदेशकी निशा सिंह तथा सौन्दर्य कला व्यवसाय सङ्घ ललितपुर जिल्ला अध्यक्ष शारदा मुल्मी सम्मानित भएका थिए।
त्यसैगरी, सीटीईभीटी लेभल–वान उत्तीर्ण विद्यार्थीहरूलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो।
प्रमुख अतिथि खड्कीले भनिन्— आर्थिक रूपमा सशक्त नभएसम्म महिला अगाडि बढ्न सक्दैनन्
प्रमुख अतिथि निवर्तमान मन्त्री हरिप्रभा खड्कीले महिला सशक्तीकरणका लागि मंगलादेवी सिंह फाउन्डेसन र गंगबु ब्युटी पार्लर एण्ड ट्रेनिङ सेन्टरले गर्दै आएको कामको खुलेर प्रशंसा गरिन्।
उनले महिलाहरू आर्थिक रूपमा सशक्त नभएसम्म वास्तविक रूपमा अगाडि बढ्न कठिन हुने बताउँदै सीप, स्वरोजगार र आर्थिक आत्मनिर्भरताले महिला सशक्तीकरणमा महत्वपूर्ण भूमिका खेल्ने धारणा राखिन्।
नेपालका विभिन्न जिल्लामा रहेर सौन्दर्य क्षेत्रमा निरन्तर योगदान पुर्याइरहेका व्यक्तिहरूलाई उनीहरूको कामको मूल्याङ्कन गरी सम्मान गर्ने कार्यक्रम आफैँमा महत्वपूर्ण रहेको उनको भनाइ थियो। तीज नजिकिँदै गर्दा उनले सम्पूर्ण नेपाली दिदीबहिनी तथा नारीहरूलाई तीजको शुभकामना समेत व्यक्त गरेकी थिइन्।
कार्यक्रमकी सभाध्यक्ष ज्ञानी महर्जन प्रजापतिले नेपालमै स्वरोजगार सिर्जना गर्दै समाजको आर्थिक उन्नति र सेवामा योगदान पुर्याइरहेका सौन्दर्यकर्मीहरूको सम्मान र प्रोत्साहनका लागि नेपाल ब्युटिसियन अवार्ड कार्यक्रम हरेक वर्ष निरन्तर आयोजना गर्ने बताइन्।
उनले कार्यक्रम सफल बनाउन सहयोग गर्ने मंगलादेवी सिंह फाउन्डेसन परिवार, विभिन्न नगरपालिका, सहयोगी कम्पनी तथा सम्पूर्ण सहयोगीहरूलाई धन्यवाद व्यक्त गरिन्।
कार्यक्रममा टोखा नगरपालिका वडा नम्बर ११ का अध्यक्ष घनश्याम खड्का, वडा नम्बर ८ का अध्यक्ष रमेश खत्री, टोखा वडा नम्बर ११ का पूर्व वडा अध्यक्ष उत्तम अधिकारी, नेपाली कांग्रेस क्षेत्र नम्बर ६ का सभापति श्याम खड्गी, वरिष्ठ ब्युटिसियन सोनी कारन्जित, सीता अर्याल, सुमा चित्राकार, ज्ञानी मैया मिजला, सविता थापा, तुलसी घिमिरेलगायत सौन्दर्य क्षेत्रका विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमको सञ्चालन वरिष्ठ उद्घोषक तथा गायिका विष्णुमाया पौडेलले अत्यन्तै रोचक र आकर्षक ढंगले गरेकी थिइन्। औपचारिक कार्यक्रम सम्पन्न भएपछि नृत्य तथा तीजका गीतमा सहभागीहरू नाचगान गर्दै रमाएका थिए।
यसैबीच, गंगबु ब्युटी पार्लर एण्ड ट्रेनिङ सेन्टरकी अध्यक्ष ज्ञानी महर्जन प्रजापतिले संस्थाले हरेक वर्ष ब्राइडल मेकअप कम्पिटिसन आयोजना गर्दै आएको जानकारी दिँदै आगामी चैत २० गते हुने प्रतियोगितामा देशभरिका ब्युटिसियनहरूले सहभागिता जनाउन सक्ने बताएकी थिइन्।
सौन्दर्य क्षेत्रमा वर्षौंको पसिना, मेहनत र योगदानको कदर गर्दै देशभरका प्रतिभाशाली ब्युटिसियनहरूलाई एउटै मञ्चमा सम्मान गरिएको ‘सेकेन्ड नेपाल ब्युटिसियन अवार्ड २०८३’ प्रेरणा, सम्मान र महिला आर्थिक सशक्तीकरणको सशक्त उदाहरण बनेको छ।
काठमाडौ ।उपल्लो मुस्ताङ केन्द्रविन्दु भएर गएको भूकम्पबाट क्षतिग्रस्त घरहरूबाट सामान सुरक्षित स्थानमा ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!