पर्सा प्रहरीमा महिला, बालबालिका र ज्येष्ठ नागरिक सेवा केन्द्र भवनको उद्घाटन

पर्सा प्रहरीमा महिला, बालबालिका र ज्येष्ठ नागरिक सेवा केन्द्र भवनको उद्घाटन

वीरगञ्ज (पर्सा) । जिल्ला प्रहरी कार्यालय पर्साको परिसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र नवनिर्मित भवनको उद्घाटन गरिएको छ । यो भवनबाट लक्षित वर्गलाई सहज र सरल ढङ्गले सेवा प्रवाह गर्ने उद्देश्यले निर्माण गरिएको हो । 

    प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले बुधबार एक कार्यक्रमबीच नवनिर्मित भवनको उद्घाटन गर्दै प्रहरीको क्षमता विकासमा पूर्वाधारको महत्त्वपूर्ण भूमिका रहने बताउनुभयो । “महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रबाट लक्षित समूहलाई सेवा प्रवाह गर्नका लागि छुट्टै भवन हुनु निकै सह्रानीय विषय हो”, उहाँले भन्नुभयो, “यसले सेवाग्राहीलाई सहज र छिटोछरितो सेवा लिन पनि सहयोगी हुने अपेक्षा राखेको छु ।” 

    महानिरीक्षक कार्कीले नेपाल प्रहरीका अझै पनि एक हजार ३५६ वटा अस्थायी चौकीका भवन अपर्याप्त रहेकाले पनि व्यवस्थित गर्न जरुरी रहेको बताउनुभयो । “सर्वसाधारणले प्रहरीचौकी चाहियो भनेर निकै माग गर्नुहुन्छ । प्रहरीचौकी निर्माणका लागि सहयोगी हात भने अपेक्षित ढङ्गमा आउन सकिरहनुभएको छैन । जसले गर्दा अधिकांश चौकीमा आधारभूत सेवासुविधा प्रदान गर्न पनि समस्या भइरहेको छ”, उहाँले भन्नुभयो । 

    पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले सेवाकेन्द्रले लक्षित वर्गलाई सहज र सरल ढङ्गले सेवा प्रवाह गर्नका लागि अनुरोध गर्नुभयो । युनाइटेड नेशन्स अफिस फर प्रोजेक्ट सर्भिसअन्तर्गत यो भवन निर्माण गरिएको हो ।

    युनाइटेड नेशन्स अफिस फर प्रोजेक्ट सर्भिसका पूर्वाधार म्यानेजर शिशिर उपाध्यायले रू दुई करोड ४८ लाखको लागतमा भवन तयार पारेर जिल्ला प्रहरी कार्यालय पर्सालाई हस्तान्तरण गरेको बताउनुभयो । “यो भवनबाट पक्कै पनि लक्षित समूहले सेवा प्राप्त गर्नका लागि सहज हुनेछ”, उहाँले भन्नुभयो, “यो भवन, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमैत्री भवन भएकाले पनि सेवा प्रवाहमा सहज हुने आशा र अपेक्षा राखेका छौँ ।” 

    भवन भने एक हजार ४०० वर्गफिट क्षेत्रफल रहेको छ । भवन निर्माणको काम भने रोयल कन्स्ट्रक्सन कैलालीले गरेको हो । युनाइटेड नेशन्स अफिस फर प्रोजेक्ट सर्भिस ९युएनओपिएस० का अपरेसन कोर्डिनेटर इन्द्र न्यौपानेले युएनओपिएसले १५ जिल्लामा १५ वटा भवन निर्माण गरेको बताउनुभयो । अहिलेसम्म आठ वटा यस्ता भवनको उद्घाटन भइसकेको छ भने अन्य सात स्थानमा अन्तिम चरणमा पुगेको छ । 

    सो कार्यालयले कोशी प्रदेशमा तालिम सेन्टरसमेत निर्माण गरेको जनाएको छ । नेपाल प्रहरी मधेस प्रदेश प्रमुख गोविन्द थपलियाले यस्ता प्रकारका भवनले सेवाग्राहीलाई सहज सेवा प्राप्त गर्न सघाउ पुर्‍याउने बताउनुभयो । 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

प्रारम्भिक प्रतिवेदनपछि १४ अर्ब ६३ करोडबराबरको बेरुजु असुल
10 घण्टा अगाडि

काठमाडौँ ।लेखापरीक्षणको प्रारम्भिक प्रतिवेदन सम्बन्धित निकायलाई उपलब्ध गराइएपछि१४ अर्ब ६३ करोड २६ ला ...

छुटाउनुभयो कि ?

TOP