नेपाल बैंक ऋण मिलाइदिने बहानामा घुस : तीन जनाविरुद्ध मुद्दा दर्ता

नेपाल बैंक ऋण मिलाइदिने बहानामा घुस : तीन जनाविरुद्ध मुद्दा दर्ता

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले नेपाल बैंक लिमिटेड सँग जोडिएको ५ लाख रुपैयाँ घुस/रिसवत प्रकरणमा तीन जनाविरुद्ध विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गर्दै मुद्दा दर्ता गरेको छ।

आयोगका अनुसार विशेष अदालतमा दर्ता भएको मुद्दा नं. ०८१-CR-०११७ अन्तर्गत नेपाल सरकार वादी र चन्द्र बहादुर अधिकारीसमेत प्रतिवादी रहेको घुस प्रकरणमा प्रारम्भिक रूपमा सरकारी साक्षीका रूपमा प्रस्तुत गरिएका हिमाल तराई कन्सट्रक्सन प्रा.लि.का प्रोप्राइटर राजमान तामाङले अदालतमा दिएको बकपत्र अनुसन्धानसँग मेल नखाएपछि उनीमाथि समेत कारबाही अघि बढाइएको हो।

अनुसन्धानबाट तत्कालीन अध्यक्ष चन्द्र बहादुर अधिकारी, रमेश आचार्य र राजमान तामाङबीच मिलेमतो तथा योजनाबद्ध रूपमा नेपाल बैंकबाट ऋण मिलाइदिने बहानामा ५ लाख रुपैयाँ घुस माग गरी लिएको तथ्य स्थापित भएको आयोगले जनाएको छ। सेवाग्राही तामाङबाट उक्त रकम बराबरको चेक रमेश आचार्यमार्फत लिइएको र सो चेक अधिकारीको घरबाट बरामद भएको पनि आयोगको दाबी छ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५५ बमोजिम अनुसन्धानमा सहयोग गरेको आधारमा तामाङलाई सुरुमा सजायमा पूर्ण छुट दिई सरकारी साक्षी बनाइएको थियो। तर, मिति २०८२ चैत ५ गते विशेष अदालतमा बकपत्र गर्दा उनले आयोगमा दिएको बयान र मिसिलमा संलग्न प्रमाणविपरीत अभिव्यक्ति दिएपछि उनीविरुद्ध पनि कसुर पुष्टि हुने आधार देखिएको आयोगले उल्लेख गरेको छ।

आयोगले तामाङविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) अन्तर्गत कसुर कायम गर्दै ५ लाख रुपैयाँ बिगो निर्धारण गरेको छ। साथै सोही ऐनअनुसार कैद, जरिवाना तथा घुस/रिसवत रकम जफत/असुल गर्न मागदाबी लिइएको छ।

प्रवक्ता सुरेश न्यौपानेद्वारा जारी विज्ञप्तिअनुसार उक्त मुद्दा अहिले विशेष अदालत, काठमाडौंमा विचाराधीन रहेको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

प्रारम्भिक प्रतिवेदनपछि १४ अर्ब ६३ करोडबराबरको बेरुजु असुल
10 घण्टा अगाडि

काठमाडौँ ।लेखापरीक्षणको प्रारम्भिक प्रतिवेदन सम्बन्धित निकायलाई उपलब्ध गराइएपछि१४ अर्ब ६३ करोड २६ ला ...

छुटाउनुभयो कि ?

TOP