काठमाडौं । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत १६५ निर्वाचन क्षेत्रमध्ये १०० क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ। हालसम्म सार्वजनिक नतिजा अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सबैभन्दा अगाडि देखिएको छ।
सार्वजनिक नतिजा अनुसार रास्वपाले मात्रै ७८ सिट जितेको छ। अन्य दलहरू भने निकै पछाडि परेका छन्। नेपाली कांग्रेसले ११ सिट, नेकपा एमालेले ५ सिट, नेपाली कम्युनिस्ट पार्टीले ३ सिट र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले १ सिट जितेका छन्। एक स्वतन्त्र उम्मेदवार पनि विजयी भएका छन्।
गत बिहीबार सम्पन्न भएको निर्वाचनको मतगणना अझै जारी छ। प्रत्यक्षतर्फ मतगणना सकिएका स्थानहरूमा समानुपातिकतर्फको मतगणना सुरु भइसकेको छ। समानुपातिक मतगणनामा पनि रास्वपाले अग्रता कायम राखेको जनाइएको छ।
अहिलेसम्म नतिजा नआएका धेरै क्षेत्रमा पनि रास्वपा अग्रतामा रहेको बताइएको छ। उपलब्ध तथ्यांक अनुसार रास्वपा थप ४३ क्षेत्रमा अग्रता लिइरहेको छ। यसले गर्दा अन्तिम परिणाम आउँदासम्म पार्टीको सिट संख्या अझै बढ्ने सम्भावना देखिएको छ।
यस निर्वाचनमा रास्वपाले काठमाडौं महानगरका निवर्तमान मेयर बालेन्द्र शाह (बालेन)लाई भावी प्रधानमन्त्रीको रूपमा प्रस्तुत गर्दै चुनाव लडेको थियो। बालेन स्वयं झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार थिए।
झापा–५ मा उनले नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई ठूलो मतान्तरले पराजित गर्दै जित हासिल गरेका छन्। बालेनले ६८ हजार ३४८ मत प्राप्त गर्दा ओलीले १८ हजार ७३४ मत मात्रै प्राप्त गरे। दुई उम्मेदवारबीच ४९ हजार ६१४ मतको फराकिलो अन्तर रहेको छ।
२०७९ सालमा स्वतन्त्र उम्मेदवारका रूपमा काठमाडौं महानगरको मेयर जितेका बालेन यसपटक मेयर पद छाडेर प्रतिनिधिसभा निर्वाचनमा सहभागी भएका थिए। अहिले आएको प्रारम्भिक नतिजाले रास्वपालाई प्रतिनिधिसभामा स्पष्ट बहुमततर्फ उन्मुख देखाएको छ।
मतगणना जारी रहेकाले बाँकी क्षेत्रको नतिजा आउँदा प्रतिनिधिसभाको अन्तिम शक्ति सन्तुलन अझ स्पष्ट हुने अपेक्षा गरिएको छ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्यालले जनताको आशा र विश्वासला ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!