काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सक्रिय सहभागिताका लागि सबै मतदातासँग अपिल गरेकी छन्।
होली अर्थात् फागु पूर्णिमाको अवसर पारेर देशवासीका नाममा सम्बोधन गर्दै उनले निर्वाचनलाई शान्तिपूर्ण, स्वच्छ र भयरहित बनाउन सबैको सहकार्य आवश्यक रहेको बताइन्।
प्रधानमन्त्रीले देश फेरि इतिहासको महत्वपूर्ण मोडमा उभिएको उल्लेख गर्दै निर्वाचनमार्फत नागरिकले आफ्नै भविष्य निर्धारण गर्ने बताइन्।
उनले भोट हाल्नु केवल उम्मेदवार छान्ने प्रक्रिया मात्र नभई आफ्नो र सन्तानको भविष्य तय गर्ने निर्णय भएको स्पष्ट पारिन्। त्यसैले मतदानका दिन अन्य काम छाडेर भए पनि मतदान केन्द्रमा पुग्न आग्रह गरिन्।
जेन–जी आन्दोलनपछिको जटिल अवस्थाबाट देशलाई शान्तिपूर्ण निकासतर्फ ल्याउन सफल भएको उल्लेख गर्दै उनले अहिले विधिको शासन र संविधानको मार्गमा देश अघि बढिरहेको दाबी गरिन्। उक्त उपलब्धि सबै नेपालीको संयम र सहकार्यको परिणाम भएको उनको भनाइ छ।
निर्वाचनको सन्दर्भमा उनले राजनीतिक दल, उम्मेदवार र समर्थकलाई संयमित र सम्मानजनक ढंगले प्रचार–प्रसार गर्न आग्रह गरिन्। मौन अवधिको पूर्ण पालना गर्नसमेत उनले आह्वान गरेकी छन्।
निर्वाचन आयोग, सुरक्षा निकाय र राष्ट्रसेवक कर्मचारीहरूको भूमिकाको प्रशंसा गर्दै निष्पक्षता र मेहनतले निर्वाचन सफल हुने विश्वास व्यक्त गरिन्।
सरकारले निर्वाचन सुरक्षामा चारवटै सुरक्षा संयन्त्र परिचालन गरेको र संघ, प्रदेश तथा स्थानीय सरकारबीच समन्वय भइरहेको उनले जानकारी दिइन्।
राष्ट्रपति रामचन्द्र पौडेलबाट प्राप्त सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै मित्रराष्ट्र र अन्तर्राष्ट्रिय निकायबाट प्राप्त सहयोगलाई पनि सकारात्मक भनेकी छन्।
सामाजिक सञ्जालमा फैलाइने भ्रामक सामग्री र तथ्यहीन सूचनाप्रति सचेत रहन उनले आग्रह गरेकी छन्। यस्ता गतिविधिलाई कानुनी दायरामा ल्याइने स्पष्ट गर्दै दण्डहीनतालाई कुनै पनि हालतमा प्रश्रय नदिने चेतावनी दिइन्।
सम्बोधनको क्रममा उनले मध्यपूर्व क्षेत्रमा बढ्दो तनावप्रति चिन्ता व्यक्त गर्दै त्यहाँ रहेका नेपालीको सुरक्षामा सरकार सतर्क रहेको बताइन्। परराष्ट्र मन्त्रालयमार्फत निरन्तर अनुगमन भइरहेको र आवश्यक सहजीकरण गरिने उनको भनाइ छ।
प्रधानमन्त्रीले निर्वाचनलाई ऐतिहासिक अवसरका रूपमा लिन आह्वान गर्दै फागुन २१ को मतदानलाई शान्तिपूर्ण र उदाहरणीय बनाउन सबैसँग सहयोग मागेकी छन्।
काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको सम् ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!