फागुन २१ चुनाव: ३ दिन सार्वजनिक बिदा सिफारिस, मन्त्रिपरिषद्को निर्णय पर्खाइमा

फागुन २१ चुनाव: ३ दिन सार्वजनिक बिदा सिफारिस, मन्त्रिपरिषद्को निर्णय पर्खाइमा

काठमाडौं,फागुन १०- निर्वाचन आयोग ले फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै तीन दिन सार्वजनिक बिदा दिन सरकारसमक्ष औपचारिक सिफारिस गरेको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराई ले आइतबार नेपाल सरकार लाई पत्र पठाएर फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा दिन अनुरोध गरिएको जानकारी दिए।

प्रवक्ता भट्टराईले भने, “निर्वाचनमा मतदाताको उत्साहजनक सहभागिता बढाउने उद्देश्यले तीन दिन सार्वजनिक बिदा सिफारिस गरिएको हो।” आयोगका अनुसार देशका विभिन्न स्थानमा रोजगारी, अध्ययन वा अन्य कारणले बसोबास गरिरहेका मतदातालाई आफ्नो स्थायी मतदान केन्द्रसम्म पुग्न सहज होस् भन्ने उद्देश्यले बिदा प्रस्ताव गरिएको हो।

आयोगको भनाइमा, बिदा भएमा मतदाताले अघिल्लो दिन नै आफ्नो गन्तव्यतर्फ प्रस्थान गर्न सक्नेछन्, मतदानको दिन निर्धक्क रूपमा मत हाल्न सक्नेछन् र मतदानपछिको दिन सामग्री व्यवस्थापन तथा सुरक्षा व्यवस्थापन प्रभावकारी रूपमा सञ्चालन गर्न सकिनेछ।

निर्वाचन तयारी अन्तिम चरणमा पुगेको आयोगले जनाएको छ। मतदान केन्द्र निर्धारण, कर्मचारी खटनपटन, मतपत्र छपाइ, सुरक्षा समन्वयलगायतका काम तीव्र गतिमा भइरहेको छ। सुरक्षा निकायसँग समन्वय गरी शान्तिपूर्ण र निष्पक्ष मतदान गराउने तयारी भइरहेको आयोगको दाबी छ।

अब बिदा दिने वा नदिने अन्तिम निर्णय मन्त्रिपरिषद् बैठकले गर्नेछ। मन्त्रिपरिषद्ले सिफारिस स्वीकृत गरेमा फागुन २०, २१ र २२ गते देशभर सार्वजनिक बिदा लागू हुनेछ।

सामाजिक सञ्जालमा भने आयोगको सिफारिसबारे बहस सुरु भएको छ। कतिपयले लोकतन्त्र सुदृढ गर्न आवश्यक कदम भन्दै समर्थन गरेका छन् भने केहीले तीन दिन बिदाले आर्थिक गतिविधिमा असर पर्न सक्ने टिप्पणी गरेका छन्।
निर्वाचन मिति नजिकिँदै जाँदा मतदाताको चासो र राजनीतिक गतिविधि बढ्दै गएको छ। अब सबैको ध्यान मन्त्रिपरिषद्को निर्णयतर्फ केन्द्रित भएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

उपराष्ट्रपतिद्वारा शोक व्यक्त !
3 घण्टा अगाडि

काठमाडौँ | उपराष्ट्रपति रामसहायप्रसाद यादवले पितृशोकमा रहनुभएका नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अ ...

छुटाउनुभयो कि ?

TOP