रौतहट तनावपछि सर्वदलीय सक्रियता, ११ फागुन बिहान सद्भाव र्‍याली

रौतहट तनावपछि सर्वदलीय सक्रियता, ११ फागुन बिहान सद्भाव र्‍याली

रौतहट,फागुन १०- रौतहटको गौर नगरपालिका–६ स्थित सबगढा गाउँमा दुई समुदायबीच उत्पन्न तनावपछि सर्वदलीय बैठक सक्रिय बनेको छ । प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालको आह्वानमा बसेको सर्वपक्षीय बैठकले २०८२ फागुन ११ गते बिहान ७:३० बजे सद्भाव र्‍याली निकाल्ने निर्णय गरेको हो ।

फागुन ७ गते राति ९:४५ बजे सुरु भएको विवाद प्रारम्भमा सामान्य रूपमा समाधान भए पनि फागुन ८ गतेदेखि पुनः उग्र बनेको प्रशासनले जनाएको छ । फागुन ९ गते बिहानदेखि परिस्थिति जटिल बन्दै गएपछि जनधनको क्षति रोक्न जिल्ला सुरक्षा समितिको निर्णयअनुसार दिउँसो १ बजेदेखि कर्फ्यु आदेश जारी गरिएको थियो, जुन हालसम्म कायमै छ ।

बैठकले विवादका क्रममा भएका घटनाप्रति खेद प्रकट गर्दै जिल्लामा शान्तिपूर्ण वातावरण कायम गर्न सबै सरोकारवाला पक्षले सार्वजनिक अपिल जारी गर्ने निर्णय गरेको छ । धार्मिक, सामाजिक तथा सांस्कृतिक सद्भाव कायम राख्दै नागरिक समाजको अगुवाइमा सबगढाबाटै सद्भाव र्‍याली निकाल्ने सहमति भएको प्रशासनले जनाएको छ ।

जिल्ला सुरक्षा समितिले दुवै पक्षका स्थानीय भद्रभलादमी व्यक्तिहरूको उपस्थितिमा औपचारिक तथा अनौपचारिक छलफल गरी समस्या समाधानका लागि पहल गर्ने निर्णय गरेको छ ।

यसैगरी, अन्तर्राष्ट्रिय घटनालाई जिल्लाभित्रकै घटना भएको भनी सामाजिक सञ्जालमार्फत अनर्गल प्रचारप्रसार गरी शान्ति भंग गर्ने प्रयास भएमा आवश्यक कारबाही गर्न सुरक्षा निकायलाई सहयोग गर्ने निर्णय गरिएको छ ।
सुरक्षा निकायले धार्मिक–सामाजिक सद्भाव बिथोल्न खोज्ने व्यक्तिहरूको निगरानी गरिरहेको जनाएको छ । पक्राउ परेका व्यक्तिहरूमाथि अनुसन्धानबाट दोषी देखिए कानुनी कारबाही अघि बढाइने र अनुसन्धानका क्रममा संलग्न देखिने अन्यलाई समेत कानुनी दायरामा ल्याइने प्रशासनले स्पष्ट पारेको छ ।

प्रशासनले सबै नागरिकलाई संयमता अपनाउन, अफवाहमा नलाग्न र शान्ति कायम राख्न सहयोग गर्न अपिल गरेको छ ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

जनताको आशा र विश्वास कायम राख्न रास्वपा उपसभापति अर्यालको आग्रह
3 घण्टा अगाडि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्यालले जनताको आशा र विश्वासला ...

छुटाउनुभयो कि ?

TOP