डिजिटल हब बनाउने गगन थापाको ७ बुँदे योजना सार्वजनिक

डिजिटल हब बनाउने गगन थापाको ७ बुँदे योजना सार्वजनिक

काठमाडौं ।  नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाललाई डिजिटल हब का रूपमा विकास गर्ने लक्ष्यसहित ७ बुँदे योजना सार्वजनिक गरेका छन्। उनले स्थिर नीति, दक्ष जनशक्ति उत्पादनदेखि हरित ऊर्जा प्रयोगसम्मका विषयलाई प्राथमिकतामा राख्दै डिजिटल अर्थतन्त्र विस्तारको खाका अघि सारेका हुन्।

थापाले सबैभन्दा पहिले अनुमानयोग्य र स्थिर कर प्रणाली लागू गर्नुपर्नेमा जोड दिएका छन्। लगानीमैत्री वातावरण बनाउन स्थिर कर नीतिको आवश्यकता औंल्याउँदै उनले नीतिगत अस्थिरता हटाउनुपर्ने बताएका छन्।

त्यस्तै, हरेक वर्ष उत्पादन हुने करिब १५ हजार स्नातकलाई बजारअनुसारको सीप प्रदान गर्ने योजना अघि सारिएको छ। उनले दक्ष जनशक्ति उत्पादनमार्फत डिजिटल क्षेत्रमा रोजगारी र उद्यमशीलता बढाउने लक्ष्य राखिएको बताएका छन्।

नेपालमै डिजिटल उत्पादन तयार गरी ‘भ्यालु पिरामिड’को माथिल्लो तहमा पुग्ने लक्ष्यसहित डिजिटल प्रोडक्टमा फड्को मार्ने रणनीति पनि योजनामा समावेश छ।

अनुसन्धान तथा विकास (R&D) लाई प्रोत्साहन गर्न नवीन प्रविधिको विकासका लागि १० प्रतिशत कर छुट दिने र शिक्षामा व्यापक लगानी गर्ने प्रस्ताव गरिएको छ।

थापाले भौतिक संरचना निर्माणमा मात्र सीमित नभई पूर्ण डिजिटल इकोसिस्टम निर्माण गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।

योजनामा कानुनी सुधार र सामाजिक सुरक्षालाई पनि समेटिएको छ। श्रम ऐन संशोधन गर्दै डिजिटल क्षेत्रमा काम गर्ने जनशक्तिको सुरक्षालाई सुनिश्चित गर्ने प्रतिबद्धता जनाइएको छ।

यसका साथै, नेपालका जलविद्युत स्रोतको उपयोग गरी ग्रीन डाटा सेन्टर स्थापना गर्ने र ऊर्जा आधारित सेवामार्फत विश्व बजारमा प्रतिस्पर्धा गर्ने लक्ष्य राखिएको छ।

थापाले यी योजना कार्यान्वयनमा आए नेपाल दक्षिण एशियामै डिजिटल सेवाको केन्द्र बन्न सक्ने दाबी गरेका छन्।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

तिर्न बाँकी सरकारी ऋण २८ खर्ब ७८ अर्ब
2 घण्टा अगाडि

काठमाडौँ | चालु आर्थिक वर्ष २०८२/८३ को सुरुमा कुल सार्वजनिक ऋण रु २६ खर्ब ७४ अर्ब चार करोड रहेकोमा फ ...

छुटाउनुभयो कि ?

TOP