‘२५५ करोड लुटधन्दा’ आरोपमा परराष्ट्रको कडा खण्डन, प्राइम टेलिभिजनलाई भ्रामक सामग्री हटाउन अल्टिमेटम

काठमाडौं पुस २५- संयुक्त अरब इमिरेट्स (युएई) भिसा प्रक्रियामा ‘लुट’, ‘सेटिङ’ र ‘ठगी’ भएको दाबी गर्दै प्राइम टेलिभिजनमा प्रसारित सामग्रीप्रति परराष्ट्र मन्त्रालयले कडा आपत्ति जनाउँदै औपचारिक खण्डन गरेको छ। मन्त्रालयले ती सामग्री भ्रामक, कपोलकल्पित र आधारहीन रहेको ठहर गर्दै यसले नेपाल–युएई द्विपक्षीय सम्बन्धमै नकारात्मक असर पार्न सक्ने चेतावनी दिएको हो।

मन्त्रालयका अनुसार युएई दूतावासका लागि आवश्यक चालचलन प्रमाणपत्र (Police Report) संकलन, प्रमाणीकरण र वितरण निजी सेवा प्रदायक VFS Global मार्फत हुने व्यवस्था युएईकै क्षेत्राधिकारभित्र पर्छ। यस प्रक्रियामा नेपाल सरकारका कुनै पनि निकायको संलग्नता नरहेको स्पष्ट पार्दै मन्त्रालयले ‘राजदूत–सचिवको सेटिङ’ जस्ता आरोपलाई निन्दनीय लाञ्छना भनेको छ।

Gen-Z आन्दोलनपछिको अन्तरिम अवधिमा युएईले नेपाली राहदानीवाहकका लागि भिसा कडाइ गरेको अवस्थामा, भिसा प्रक्रिया सुचारु गराउन कूटनीतिक पहलस्वरूप चालचलन प्रमाणपत्र अनिवार्य गरेर भए पनि भिसा जारी गर्ने व्यवस्था लागू भएको मन्त्रालयको दाबी छ। यही संवेदनशील विषयलाई तोडमोड गरी प्रसारण गरिएको सामग्रीले वैदेशिक रोजगारीका अवसर जोखिममा पार्ने र दुई देशबीचको सम्बन्ध बिगार्ने मन्त्रालयको ठहर छ।

परराष्ट्रले सम्बन्धित प्रसारण संस्था र व्यक्तिलाई भ्रामक सामग्री यथाशीघ्र हटाउन र औपचारिक खण्डन गर्न आग्रह गर्दै अन्तर्राष्ट्रिय सम्बन्धजस्तो संवेदनशील विषयमा समाचार तयार गर्दा पत्रकार आचारसंहिता र तथ्यपरकता पालना गर्न कडा सन्देश दिएको छ। मन्त्रालयले वैदेशिक रोजगारीलाई सुरक्षित, सहज र मर्यादित बनाउन सबै निकायसँग समन्वय गर्न आफू सधैं तयार रहेको पनि दोहोर्‍याएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

कोशीमा सिट गणितको लडाइँ तीव्र: एमाले बहुमतको दाबीमा, कांग्रेस आन्तरिक चिन्तामा
2 घण्टा अघि

विराटनगर१५ माघ - २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा कोशी प्रदेशका २८ निर्वाचन क्षेत्रमध्ये नेकपा एम ...

Recent Posts

छुटाउनुभयो कि ?

TOP