शून्य लागतसहितको रोजगारीको व्यवस्था गर्न मलेसियासँग आग्रह

शून्य लागतसहितको रोजगारीको व्यवस्था गर्न मलेसियासँग आग्रह

१६ वैशाख,  काठमाडौँ । मलेसियाको भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले त्यहाँका मानव संसाधनमन्त्री दातुक सेरी एम सराभननसँग भेटवार्ता गरेका छन्।  त्यस अवसरमा उनीहरुले नेपाल र मलेसियाबीचको  मैत्रीपूर्ण सम्बन्धलाई नेपाली युवाको मलेसियाली श्रम बजारमा रहेको उपस्थितिले थप मजबुत बनाएकामा प्रसन्नता व्यक्त गर्दै पारस्परिक सम्बन्धलाई अझ सुदृढ एवं सुमधुर तुल्याउन आफूहरू प्रतिबद्ध रहेको बताए ।

दुवै पक्षले दुई देशबीच सन् २०१८ मा हस्ताक्षर भई हाल कार्यान्वयनमा रहेको द्विपक्षीय समझदारीपत्रलाई थप प्रभावकारी रूपमा कार्यान्वयन गर्ने, मलेसियाको श्रमबजारको आवश्यकता बमोजिम नेपाली युवालाई सीपयुक्त बनाई थप रोजगारीका अवसरहरू प्रदान गर्ने, रोजगारीको लागि युवाका छनोट तथा नियुक्तिलाई शून्य लागतसहितको स्वच्छ नियुक्तिको सिद्धान्तलाई थप प्रभावकारी बनाउने, मलेसियामा रोजगारीमा रहेका नेपाली नागरिकहरूको स्वास्थ्य, सामाजिक सुरक्षा र सामाजिक कल्याणलाई थप सवलीकरण गर्ने, चौबिसै घण्टा प्रभावकारी हुने बिमा सुविधाको व्यवस्था गर्नेबारेमा विचारविमर्श गर्नुभएको क्वालालम्पुरस्थित नेपाली दूतावासले जनाएको छ ।

नेपाली श्रमिकलाई आफ्ना अधिकार र आफूले पालना गर्नुपर्ने शर्त मलेसिया प्रवेश गर्नुअघि नै सचेत गराई कामको सिलसिलामा कुनै समस्या आइपरे तुरुन्त गुनासो गर्ने र प्राप्त गुनासाहरूको समयमै सम्बोधन गर्ने व्यवस्था मिलाउनेलगायत विषयमा पनि मन्त्रीद्वयबीच छलफल भएको थियो ।

मन्त्री श्रेष्ठले मलेसियाको निजी सुरक्षा गार्डको रूपमा नेपाली युवालाई अवसर दिएकामा कृतज्ञता ज्ञापन गर्दै उनीहरूको आधारभूत तलब बढाउन, स्वास्थ्य उपचारमा विशेष ध्यान दिन, सामाजिक सुरक्षा र कल्याणका क्षेत्रमा सुविधा वृद्धि गर्न आग्रह गरेका थिए। 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

बाली संरक्षण गर्न रुख काट्ने अभियान
3 बर्ष अगाडि

८ वैशाख काठमाडौं । बागलुङको काठेखोला गाउँपालिकाको वडा नं ५ मा अन्नबाली र फलफूलखेती विस्तार गर्न रुख ...

छुटाउनुभयो कि ?

TOP